साढे १८ लाख खर्च गरेर सिंगारियो घडीअर्वा छठघाट, पूजाको तयारी पूरा


eShilalekh

२१ कार्तिक २०८१, बुधबार १८:१७

सिमराः छठपूजाका लागि प्रसिद्ध वीरगन्जस्थित घडीअर्वा पोखरीलाई यतिबेला दुलही झै सिंगारिएको छ । छठ पूजा व्यवस्थापन समितिले १८ लाख ५० हजार रकम खर्चिएर घडीअर्वा पोखरीको सजावट गरेको हो ।

समितिले बुधवार साँझ पत्रकार सम्मेलनको आयोजना गरेर छठघाट सजावट र पूजा व्यवस्थापनका विषयमा जानकारी गराएको हो । समितिका अध्यक्ष दिलिप साह कानुले देशकै आकर्षणको केन्द्रमा रहेको घडिअर्वा पोखरी सजावटका लागि यस वर्ष उक्त रकम खर्च गरिएको जानकारी दिए ।

कानुले घडीअर्वा परिसरको सजावटसंगै पूजाको सबै तयारी पनि पूरा भएको बताए । कानुले पूजालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी गरी एक सय १० जना सुरक्षाकर्मी परिचालन हुने बताए । सुरक्षाकर्मीसंगै घडीअर्वा स्पोर्टस् क्लबका ४० जना स्वयम् सेवक पूजास्थलमा परिचालन हुनेछन् ।

घडीअर्वा परिसरमा अन्य सादा पोशाकमा समेत प्रहरी परिचालन हुने जानकारी दिदै कानुले १६ वटा सिसिटिभी क्यामराबाट निगरानी गरिने समेत बताए ।

समितिका अध्यक्ष कानुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष राजेन्द्र गुप्ता, प्रमानन्द गुप्ता, रामनगीना साह, प्रेम साह कानु, मदनप्रसाद कलवार, वीरगन्ज महानगरपालिका १० का वडाध्यक्ष सुशील साह कानु, समितिका उपाध्यक्ष राकेश साह कानु, सचिव लखनलाल साह, सहसचिव प्रभाकर गुप्ता, घडीअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु, उपाध्यक्ष मनोहर साह, सचिव सन्तोष गुप्ता, नन्दु साहलगायत उपस्थित थिए ।

तस्वीर सौजन्यः क्रान्ति शाह

प्रतिक्रिया दिनुहोस्