वीरगंजमा झण्डै १३ हजार छात्रालाई आत्मरक्षा तालिम
सिमराः वीरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका १२ हजार ९ सय ७४ जना छात्राहरुलाई बुधबार एक कार्यक्रमकाबीच आत्मारक्षासम्बन्धी प्रशिक्षण दिएको छ ।
वीरगंज महानगरपालिकाको आयोजनामा आदर्शनगरस्थित रंगशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश सेट्टीले छात्रालाई प्रशिक्षण दिएका हुन् । नेपाल भारत सहयोग मञ्चको समन्वयमा आयोजित तालिमको खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले महिलालाई सशक्तिकरण गरी सक्षम बनाउने निती सरकारले समेत लिएको बताए । वीरगंज महानगरपालिकाले एकसाथ नगरक्षेत्रका १२ हजार ९ सय ७४ छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुशी व्यक्त गर्दै यादवले यस्तो किसिमको तालिमले छात्राहरुलाई आत्मविश्वास बढाउने बताए ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले छात्राहरुलाई दिएको तालिम शुरुवात मात्रै भएको बताए । उनले अव वीरगंजका सामुदायिक तथा निजी बिद्यालयमा प्रत्येक शुक्रबार आत्मरक्षाको लागि मार्शल आर्टस् सम्बन्धी तालिम आयोजना हुने बताए ।
नगर प्रमुख सिंहले वीरगंज महानगरपालिकामा तालिम लिनका लागि १५ हजार १ सय छात्राहरुले नाम दर्ता गराएकोमा १२ हजार ९ सय ७४ जनाको फारम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पुगिसकेको समेत जानकारी दिए । यसअघि भारतको आग्रास्थित एक स्थानिय तहले एकसाथ ७ हजार चार सय एक छात्राहरुलाई आत्मारक्षाको तालिम दिएर वल्र्ड रेकर्ड बनाएको सिंहको भनाई छ ।
नगर प्रमुख सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा, विना जयसवाल, प्रदेश सांसद विना शर्मा, पूर्व प्रदेश सांसद जन्नत अन्सारी, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, उपप्रमुख इम्तियाज आलम, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महाबाणिज्य दुत देबी सहाय विणालगायतको उपस्थिति रहेको थियो ।