सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत साहविरुद्ध अदालतमा आरोपपत्र दायर
सिमराः सेवाग्राहीसंग घुस रकम लिएको आरोपमा पक्राउ परेका बारा सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहविरुद्ध अदालतमा आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । अख्तियार प्रवक्ता नरहरी घिमिरेले ७८ हजार बिगोमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय माग गर्दै अदालतमा आरोपपत्र दायर भएको जानकारी दिए ।
सेवाग्राहीसंग घुस लिएको आरोपमा हेटौंडाबाट खटिएको अख्तियारको टोलीले कार्तिक ८ गते साहलाई कलैया उपमहानगरपालिका ४ बाट नियन्त्रणमा लिएको थियो । हेटौडाबाट खटिएको अख्तियारको टोलीले ७८ हजार नगदसहित उनलाई नियन्त्रणमा लिएको थियो ।