महिला क्रिकेटर साना र अलिशालाई सिमरा विमानस्थलमा स्वागत


eShilalekh

१ मंसिर २०८१, शनिबार १८:३४

सिमराः महिला यु–१९ विश्वकपमा छनौट हुन सफल यु–१९ राष्ट्रिय टोलीका दुई खेलाडीलाई शनिबार बाराको सिमरा विमानस्थलमा स्वागत गरिएको छ । काठमाडौंबाट हवाई मार्ग हुँदै गृह जिल्ला फर्कने क्रममा यु–१९ राष्ट्रिय टिमकी ओपनर साना प्रविन र विकेटकिपर अलिशाकुमारी यादवलाई स्वागत गरिएको हो ।

साना वीरगन्जकी हुन् भने अलिशा कलैयाकी हुन् । उनिहरुलाई अभिभावक, परिवारका सदस्य, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभास जयसवाल, बारा जिल्ला क्रिकेट संघ, पर्सा जिल्ला क्रिकेट संघ, खेलाडी, खेलप्रेमीलगायतले स्वागत गरेका थिए ।

युएईमा सम्पन्न महिला यु–१९ विश्वकप एसिया छनौटमा नेपालले घरेलु टोलीलाई आठ विकेटले पराजित गर्दै विश्वकप यात्रा तय गरेको थियो । उपाधी भिडन्तमा युएईविरुद्ध एतिहासिक जित दर्ता गर्ने क्रममा वीरगन्जकी सानाले अविजित ३५ रन बनाएकी थिईन् ।

सिमरामा संचारकर्मीसंग प्रतिक्रिया दिदै सानाले इतिहास रच्न सफल भएको खुशी लागेको बताईन् । यसैगरी अलिशाले नेपाली महिला टोलीका लागि यो सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धी रहेको बताईन् ।

यसैगरी कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले अलिशालाई सम्मान गरेका छन् । सिमराबाट कलैया पुगेलगत्तै नगर प्रमुख साहले सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्