विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला सुरु
सिमराः बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरमा लाग्ने विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि विधिवत रूपमा प्रारम्भ भएको छ ।
प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलाको शोभायात्रा असोज १७ गते घटस्थापनाका दिन निकालिएको थियो भने मंसिर १ गतेदेखि विशेष पूजाको आयोजना गरी विधिवत रूपमा मेला सुरु भएको छ । मेला व्यवस्थापन समितिका अनुसार मंसिर २३ गते राँगा र २४ गते बोकालगायत अन्य पशुहरूको बलि दिने कार्यक्रम तोकिएको छ ।
महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले मेलालाई व्यवस्थित र सुरक्षित गर्न तथा श्रद्धालुहरूको सुविधाका लागि आवास तथा शौचालयको पर्याप्त व्यवस्था मिलाइएको र विभिन्न उपसमितको गठन गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिनुभयो ।
मेलामा आउने श्रद्धालुहरूको सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ । स्थानीय प्रशासन र समितिबिच समन्वय गरी मेला स्थलमा शान्ति र सुरक्षा कायम राख्न प्रहरी बल परिचालन गरिएको छ ।
मेलामा लाखौँ भक्तहरूले गढीमाईको दर्शन, पूजा, र भाकलअनुसार बलि दिने परम्परा रहेको छ ।