जीतपुरसिमरा गोल्डकपको १२औं संस्करण चैत्र दोस्रो साता


eShilalekh

७ फाल्गुन २०७८, शनिबार १३:२७

सिमरा: मोफसलको प्रतिष्ठित फूटवल प्रतियोगितामध्येको एक जीतपुरसिमरा गोल्डपको १२औं संस्करण चैत्र दोस्रो साता हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले शनिवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी चैत्र १० गतेदेखी प्रतियोगिता सुरु हुने जानकारी दिएको हो ।

आयोजक क्लबका अनुसार प्रतियोगितामा ए डिभिजनको ६ र मोफसलको ४ गरी दश टिमको सहभागीता रहनेछ । प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ ।

आयोजकले यस वर्ष प्रथम पुरस्कार राशीमा तीन लाख र द्धितीय पुरस्कारमा एक लाख पचास हजार बृद्धि गरेको छ । ११औं संस्करणमा प्रथम पुरस्कार सात लाख र द्धितीय पुरस्कार तीन लाख पचास हजार थियो ।

चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन् । आयोजकले यस वर्षपनि उदयीमान स्थानिय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना गर्न लागिएको प्रतियोगिताको अनुमानित लागत करिब ८३ लाख रहेको अध्यक्ष लामाले बताए । ११औं संस्करणमा प्रतियोगिताको अनुमानित लागत ७० लाख ५५ हजार थियो ।

१०औं संस्करणसम्म सिमरा गोल्डकपको नामबाट संचालन हुदै आएको प्रतियोगिता पछिल्लो संस्करणबाट जीतपुरसिमराको नाममा रुपान्तरित भएको हो । स्थानिय सरकारका रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि मुख्य सहयोगीको भूमिकामा सहयोग गर्दै आएको छ । अघिल्लो संस्करणमा २० लाख आर्थिक सहयोग उपलब्ध गराएको उपमहानगरपालिकाले यस संस्करणमा २५ लाख उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय स्तरको प्रतियोगिता सफल बनाउन उपमहानगरपालिका मुख्य सहयोगीको रुपमा अग्रसर हुन थालेपछि आयोजक र खेलप्रेमी उत्साहित देखिएका छन् । आर्थिक सहयोगका साथ प्रतियोगिता आयोजना हुने सिमरा रंगशलाको खेल मैदान सुधारका लागि उपमहानगरपालिकाले साधनस्रोत समेत उलपब्ध गराउदै आएको छ ।

सिमरा रंगशालाको खेल मैदानलाई अहिले दक्षिणतर्फ विस्तार गरिएको छ । निर्माणाधिन प्यारापीटको मध्यभागमा पर्ने गरी मैदान विस्तार गरिएको महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए । विगतमा भन्दा यस वर्ष खेलप्रेमी दर्शकले प्यारापीटमा बसेर खेलकुदको मनोरञ्जन लिन सक्ने ठकुरीको भनाई छ ।

प्रतियोगिता यस वर्ष पनि फ्लड लाईटमा हुनेछ । गर्मी मौसमलाई मध्यनजर आयोजकले अघिल्लो संस्करणदेखी फ्लड लाईटमा खेल संचालन गर्न लागेको हो । फ्लड लाईटमा खेल संचालन हुदा खेलाडीलाई राहत पुग्ने र दर्शकको उपस्थिती बाक्लो रहने आयोजकको अपेक्षा छ ।

अखिल नेपाल फूटवल संघ (एन्फा) टुर्नामेन्ट सर्पोटरको रुपमा रहेको प्रतियोगिताको प्रोमोटरमा नेपाल पर्यटन बोर्ड रहेको छ । प्रतियोगिता अवधीभरका लागी वीरगन्जस्थित लुम्बिनी जनरल ईन्स्योसेन्सले खेलाडी, अफिसियल, पत्रकार, स्वयंसेवकलाई १० लाख र एक सय ३० जना दर्शकलाई पाँच लाखको विमा गर्ने भएको छ । ईन्स्योरेन्सका शाखा प्रवन्धक निशान्त लामिछानेले विमाका लागि आयोजकसंग सहकार्य गर्न तयार रहेको जानकारी दिए ।

प्रतियोगिता सफल पार्न सिमरास्थित युआर अटोमेटिक लन्ड्री, मुनसाईन टेक्नोलोजी, सुसप्त मेडिकल हल प्राविधिक सहयोगीको भूमिकामा रहने भएका छन् । पत्रकार सम्मेलनमा आयोजकले ११औं राष्ट्रिय खेलकुद मधेस प्रदेशमा आयोजना गर्न समेत माग गरेको छ ।

पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती चौधरी, क्लबका पूर्व अध्यक्षद्धय कासिम मियाँ र राजकुमार भट्टराई, नेकपा एमाले बाराका जिल्ला कमिटी सदस्य भोला अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ वडाध्यक्ष हिराबहादुर गुरु», कार्यपालिका सदस्य शोभा कार्कीलगायत सहयोगी संघसंस्थाका प्रतिनिधि, क्लबका पदाधिकारी र सदस्यको उपस्थिती रहेको थियो । क्लबका अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्