क्रियटिभ जीतपुरसिमरा भेट्रान कप भोलिदेखि सुरु हुँदै


eShilalekh

१० मंसिर २०८१, सोमबार २१:३५

सिमराः क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप फूटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । नव जनजागृति भेट्रान कपको आयोजनामा प्रतियोगिता सुरु हुन लागेको हो ।

सिमरा रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन चार वटा खेल हुदैछन् । बिहान ८ बजे हुने पहिलो खेलमा सिमरा भेट्रान क्लब र युनाईटेड भेट्रान क्लब हेटौंडा भिड्दैछन् ।

यसैगरी बिहान ९ बजे सर्लाही भेट्रान क्लब र डुमरवाना भेट्रान क्लबबीच खेल हुनेछ । तेस्रो खेलमा दिउँसो १२ बजे बकुलिया भेट्रान क्लब र निजगढ भेट्रान क्लब भिड्नेछन् ।

चौथो खेलमा भारत बिहारको टाउन भेट्रान क्लब र नागस्वोती भेट्रान क्लब हेटौंडाबीच हुने प्रतियोगिता संयोजक राम पाठकले जानकारी दिए । प्रतियोगिताको उद्घाटन समारोह चौथो खेल सुरु हुनु अघि हुनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले प्रतियोगिताको उद्घाटन गर्नेछन् । मंसिर १५ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहेको छ । क्लबका अध्यक्ष सोनु क्षेत्रीका अनुसार सिमरा भेट्रान, पथलैया भेट्रान, डुमरवाना भेट्रान, बकुलिया भेट्रान, सरस्वती नगर भेट्रान क्लब काठमाडौं, वीरगन्ज युथ भेट्रान, निजगढ भेट्रान, टाउन भेट्रान बिहार, युनाईटेड भेट्रान हेटौडा, सर्लाही भेट्रान, प्ले टुगेदर भेट्रान झापा, वीरगन्ज सिटी भेट्रान, नागस्वोती भेट्रान हेटौडा, खैर्वा भेट्रान, वीरगन्ज युनाईटेड भेट्रान र आयोजक नव जनजागृति भेट्रानले सहभागिता जनाउनेछन् ।

प्रतियोगितालाई कलैयाको क्रियटिभ वल्र्ड डिजिटल प्रा.लिले मुख्य प्रायोजन गर्दैछ । यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका, विभिन्न वडा कार्यालय, जगदम्बा स्टील्स, हुलास स्टील, क्लासिक मेट्रेस, तराई यातायात व्यवसायी संघ, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, युआर अटोमेटिक लण्ड्री, द पावर जिम सिमरा, न्यु स्टार अस्पताल सिमरा, प्राइम पार्टी प्यालेस, चौधरी टेन्ट हाउस, सगरमाथा लुम्बिनी इन्स्योरेन्स प्रतियोगिताको सहयोगीको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्