क्रियटिभ जीतपुरसिमरा भेट्रान फूटबल, एकै दिन चार खेल सम्पन्न
सिमराः क्रियटिभ जीतपुरसिमरा भेट्रान फूटबल प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न तेस्रो खेलमा निजगढ बिजयी भएको छ । निजगढले बकुलिया भेट्रानलाई टाईब्रेकरमा १–० ले पराजित गरेको हो ।
निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । टाईब्रेकरमा निजगढका लागि गोकुल खत्रीले गोल गर्दा दुबै टिमका अन्य खेलाडी असफल देखिए ।
प्रतियोगिता अन्तर्गत चौथो खेलमा नागस्वोती भेट्रान क्लब हेटौंडाले भारत बिहारको टाउन भेट्रान क्लबलाई १०–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । खराब प्रदर्शन गरेको बिहारविरुद्ध हेटौंडाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ५ गोल गरेको हो ।
नव जनजागृति भेट्रान क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत मंगलबार बिहान भएको पहिलो खेलमा युनाईटेड भेट्रान क्लब हेटौंडा बिजयी भएको थियो । हेटौंडाले सिमरा भेट्रानलाई २–१ ले पराजित गरेको हो ।
यसैगरी दोस्रो खेलमा डुमरवाना भेट्रानले सर्लाही भेट्रानलाई टाईब्रेकरमा २–१ ले पराजित गरेको थियो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । टाईब्रेकरमा डुमरवानाका लागि राजन उप्रेती र सुवास कार्कीले गोल गरेका थिए ।
सर्लाहीका निलबहादुर राईको प्रहारले जाली चुम्दा प्रविण राईको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो भने चन्द्रबहादुर स्याङ्तानको प्रहार डुमरवानाका गोलरक्षक प्रकाश भट्टले बचाउ गरेका थिए ।
यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उमपहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका थिए । क्रियटिभ वर्ल्ड डिजिटल प्रालिको मुख्य प्रायोजन र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछ ।
मंसिर १५ गतेसम्म संचालन हुने प्रतियोगितामा सिमरा भेट्रान, पथलैया भेट्रान, डुमरवाना भेट्रान, बकुलिया भेट्रान, सरस्वती नगर भेट्रान क्लब काठमाडौं, वीरगन्ज युथ भेट्रान, निजगढ भेट्रान, टाउन भेट्रान बिहार, युनाईटेड भेट्रान हेटौंडा, सर्लाही भेट्रान, प्ले टुगेदर भेट्रान झापा, वीरगन्ज सिटी भेट्रान, नागस्वोती भेट्रान हेटौंडा, खैर्वा भेट्रान, वीरगन्ज युनाईटेड भेट्रान र आयोजक नव जनजागृतिभेट्रान गरी १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता आयोजना गर्न जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वडा कार्यालय, जगदम्बा स्टील्स, हुलास स्टील, क्लासिक मेट्रेस, तराई यातायात व्यवसायी संघ, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, युआर अटोमेटिक लण्ड्री, द पावर जिम सिमरा, न्यु स्टार अस्पताल सिमरा, प्राइम पार्टी प्यालेस, चौधरी टेन्ट हाउस, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सहयोग गरेका छन् ।