बारामा १७० किलो गाँजासहित दुई जना पक्राउ


eShilalekh

१२ मंसिर २०८१, बुधबार १७:५३

सिमराः प्रहरीले बाराको कोल्हबीबाट एक सय ७० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन् ।

कोल्हबी नगरपालिका ५ सोनाभार टोलस्थित दिनदयाल चौधरीबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । गाँजासंगै प्रहरीले दिनदयालकी पत्नी ५२ वर्षीय मनमती चौधरी र सोनाभार टोलका ५० वर्षीय रमोद चौधरीलाई नियन्त्रणमा लिएको छ ।

गाँजा लुकाएर राखेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक किसन बस्नेतको नेतृत्वमा पुगेको प्रहरी टोलीले दिनदयालको घरमा खानतलासी गरेको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार दिनदयालको घरमा लुकाएर राखेको अवस्थामा २१ पोका गाँजा बरामद भएको हो ।

पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्