जनकपुरको दोस्रो जित, विराटनगरपछि कर्णालीलाई आठ विकेटले हरायो
सिमराः कप्तान अनिलकुमार साहको उत्कृष्ट प्रदर्शनको मद्यतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ । किर्तिपुरस्थित टियु मैदानमा सोमबार कर्णाली याक्सलाई आठ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले दोस्रो जित हात पारेको हो ।
जनकपुरको जीतमा कप्तान साहले ६२ रन बनाए । साह नेपाल प्रिमियर लिगमा अर्धशतक बनाउने पहिलो ब्याटर समेत बनेका छन् । साहले ४२ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ६२ रन बनाए ।
टस जितेर ब्याटिङ राजेको कर्णालीले २० ओभरमा सात विकेट गुमाउँदै १४१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५.१ ओभरमा १४२ रन बनायो ।
जनकपुरलाई कप्तान अनिल र अर्का ओपनर आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । उनिहरुले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरे । आशिफले २९ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३६ रन जोडे । आशिफ मौसम ढकालको बलमा आउट भए ।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन बनाए । यसैगरी अर्जुन घर्ती २३ बलमा ३३ बनाउँदै रन आउट भए । कर्णालीबाट खेलेका भारतका चर्चित ब्याट्सम्यान शिखर धवनले १४ बलमा १४ रन बनाए । धवनलाई हर्ष थाकरले पेभेलियन फर्काए ।