पिलुवाले उचाल्यो महेन्द्रनगर नकआउट फूटबलको उपाधि


eShilalekh

१८ मंसिर २०८१, मंगलवार १८:४९

सिमरा: डुमरवाना भेट्रान्स क्लबलाई स्तब्ध पार्दै पिलुवा फूटबल क्लबले महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

जीतपुरसिमरा १६ स्थित महेन्द्रनगर खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा डुमरवानालाई ५-१ ले पराजित गर्दै पिलुवाले उपाधि उचालेको हो।

पिलुवालाई उपाधि दिलाउन सागर चौधरीले दुई गोल गरे भने कुलदीप कार्की, उमेश सन्जेल, अंशु चौधरीले एक-एक गोल गरे । डुमरवानाका लागि भने मोहित गुरुङले पेनाल्टी मार्फत एक गोल फर्काए ।

उपाधि विजेता पिलुवाले नगद ५० हजार प्राप्त गरेको छ भने उपविजेता डुम्मरवानाले २५ हजार पाएको छ ।  प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट र सर्वाधिक गोलकर्ता पिलुवाका अमित बछार घोषित भए । विधागततर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पिलुवाका अश्मिर गुङ्बा, उत्कृष्ट डिफेण्डर पिलुवाका कुलदीप कार्की, उत्कृष्ट प्रशिक्षक पिलुवाका राजेन्द्र बछारले हात पारे । फाइनल खेलको म्यान अफ दि म्याच पिलुवाका सागर चौधरी घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल, कार्यपालिका सदस्य पवित्रामाया कार्की, पूर्व वडाध्यक्ष केदारनाथ बजगाईं, क्लबका अध्यक्ष दीपक थापा मगरलगायतले पुरस्कार वितरण गरेका थिए । समापन समारोहको सहजीकरण रवीन्द्रराज भण्डारीले गरेका थिए ।

महेन्द्रनगर युथ क्लबको आयोजनामा मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को कार्यालय, ग्रीन लाइट होटल एण्ड कटेज पिलुवा, अलराइट इन्टरनेशनल कन्सल्टेन्सीलगायतका संघसंस्थाले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्