गुठी संस्थानलाई जीतपुरसिमराको जवाफ ‘गुठीका जग्गाको मालपोत कर उपमहानगरले उठाउँछ’


eShilalekh

२० मंसिर २०८१, बिहीबार १४:५७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले गुठी संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयलाई पत्राचार गर्दै नगर क्षेत्र भित्रको गुठी अन्तर्गतका निजी जग्गाको मालपोत कर आफैले संकलन गर्ने जनाएको छ ।

उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले मंसिर १८ गते पत्र लेख्दै यसअघि गुठी संस्थानको वीरगन्जस्थित कार्यालयबाट संकलन हुँदै मालपोत कर आर्थिक वर्ष २०८१।८२ देखि उपमहानगरपालिकाको कार्यालयले संकलन गर्ने जनाएकी हुन् ।

गुठी संस्थानले कार्तिक ४ गते उपमहानगरपालिको कार्यालयलाई स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५५ को उपदफा (५) को (ग) मा गुठी अन्तर्गतका घर र जग्गामा स्थानीय सरकारले मालपोत कर लगाउन नपाउने व्यवस्था रहेको भन्दै मालपोत कर नउठाउन पत्र लेखेको थियो । सोही पत्रको जवाफमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५५ को उपदफा (५) को (ग) मा गुठी अन्तर्गतका जग्गामा सम्पति कर लगाउन नपाउने तर भूमिकर संकलन गर्न सकिने व्यवस्था भएकाले उपमहानगरपालिकाको कार्यालयले मालपोत कर संकलन गर्न लागेको बताएकी हुन् ।

उनले उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ को दफा ३ र दशौं नगरसभाले पनि उपमहानगरपालिका भित्रका निजी जग्गाको मालपोत कर लिने व्यवस्था गरेकाले उक्त मालपोत कर संकलन गर्न लागेको उल्लेख गरेकी छिन् । हेर्नुस पत्र

यसअघि कार्तिक ४ गतेको मितिमा गुठी संस्थाले उपमहानगरपालिकालाई सम्बोधन गर्दै गुठी आम्दानी राजश्वमा मिसाउन नमिल्ले तथा गुठी संस्थान नाफारहित धार्मिक संस्था भएकोले गुठी संस्थानको हकमा कर तिर्न नपर्ने कानूनी व्यवस्था भएकोले गुठी संस्थान मातहतका गुठी सम्पदा र सम्पत्ती (जग्गा जमिन, मठ मन्दिर, चैत्य, गुम्बा, पार्टी, भवन संरचना आदी) को संरक्षण सम्वद्र्धनको साथै गुठी जग्गा जमिनहरुको मालपोत, कुलबाली आदी गुठी कार्यालयले नै असुल गर्ने नै हुँदा गुठी जग्गाको मालपोत असुली सम्बन्धको त्यहाँको निर्णय कार्यान्वयन नगर्न नगराउनु हुन अनुरोध गर्दछु भन्दै पत्र लेखेको थियो । हेर्नुस पत्र


उपमहानगरपालिकाको कार्यालयले यसअघि असोज १८ गते गुठी संस्थानको वीरगन्जस्थित कार्यालयलाई पत्राचार गर्दै
जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक ऐन, २०५१ को दफा ३ मा भएको व्यवस्था अनुसार निजी जग्गाको हकमा हालसम्म गुठी संस्थानमा कर बुझाउँदै आएकोमा आर्थिक वर्षदेखि २०८१।८२ देखि उपमहानगरपालिकाबाट संकलन गर्ने निर्णय भएको हुँदा तहाँ संस्थानबाट यस उपमहानगरपालिका क्षेत्र भित्र पर्ने जग्गाहरुको चालु आर्थिक वर्ष २०८१।८२ मा संकलित मालपोत कर यस कार्यालयको आन्तरिक राजश्व खातामा दाखिला गर्न अनुरोध गर्दै पत्र लेखेको थियो । हेर्नुस यो पत्र

के छ स्थानीय सरकार संचालन ऐनमा व्यवस्था ?
स्थानीय सरकार संचालन ऐनको दफा ५५ को उपदफा (१) ले गाउँपालिका तथा नगरपालिकाले आफ्नो नगर भित्रको घर तथा जग्गामा सम्पति कर लगाउन सक्ने र उपदफा (२) मा घरले चर्चेको जग्गामा मात्रै सम्पति कर र घरले ओगटेको जग्गा बाहेक अन्य जग्गामा मालपोत कर अर्थात भूमिकर लगाउन सक्ने व्यवस्था गरेको छ ।

यसैगरी दफा (५५) को उपदफा (५) को (ग) मा गुठीको स्वामित्वमा रहेको घर र जग्गामा सम्पति कर लिन नपाईने उल्लेख छ । यस्तै दफा (५६) मा सम्पति कर लागेको घरजग्गा बाहेकको घरजग्गामा भूमिकर अर्थात मालपोत कर लगाउन सक्ने व्यवस्था गरेको छ ।

स्थानीय सरकार संचालन ऐनको यही व्यवस्थालाई टेकेर जीतपुरसिमराले गुठी अन्तर्गतका जग्गाको मालपोत कर संकलन गर्न लागेको हो । हेर्नुस् ऐनले गरेको व्यवस्थाः

जीतपुरसिमराको आर्थिक ऐन २०८१ मा के छ ?

प्रतिक्रिया दिनुहोस्