जीतपुरसिमरा नगर अधिवेशनको तयारी गर्दै राप्रपा, अध्यक्षमा खरेलको रुची
सिमराः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जीतपुरसिमरा नगर कमिटीले अधिवेशनको तयारी थालेको छ । नयाँ नेतृत्व चयनसहितको अधिवेशन भव्य बनाउन नगर भित्रका राप्रपाका नेताकार्यकर्ता आन्तरिक तयारीमा छन् ।
अधिवेशनको मिति तय हुन बाँकी भएपनि माघमा अधिवेशन गर्ने बुझिएको छ । अधिवेशन नजिकिएसंगै राप्रपाको नगर कमिटीको नेतृत्व गर्न महेश खरेलले रुची देखाएका छन् ।
इशिलालेखसंग कुरा गर्दै खरेलले जीतपुरसिमरामा राप्रपालाई नयाँ उचाईमा पुर्याउने लक्ष्यसहित नेतृत्वमा रुची देखाएको बताए । उनले राप्रपाबाट २०८४ को स्थानीय तह निर्वाचनमा उपमहानगरपालिकाको नगर प्रमुखको निर्वाचन लड्ने संकेत समेत गरेका छन् ।
यसैबीच राप्रपाका बरिष्ठ उपााध्यक्ष रवीन्द्र मिश्रले जीतपुरसिमरा भित्रका राप्रपाका नेताकार्यकर्तासंग भेट गरेका छन् । सिमरा आएका बेला मिश्रले राप्रपाको जीतपुरसिमरा पार्टी कार्यालयमा नेताकार्यकर्तासंग भेट गरेका हुन् ।
भेटमा उनले जनतासंग नजिक भएर र समाजप्रतिको उत्तरदायित्व बहन गर्दै अघि बढ्न सुझाव दिएका थिए । राप्रपाप्रतिको जनविश्वास बटुल्नका लागि पार्टीका नेताकार्यकर्ता जनतासंग नजिक भएर सामाजिक सेवामा समर्पित हुनुपर्ने मिश्रको भनाई उद्धृत गर्दै खरेलले जानकारी दिएका छन् ।
भेटका क्रममा राप्रपा केन्द्रीय सदस्य सुष्मा मिश्र, बाराका सहमहामन्त्री मोहन यादव, क्षेत्रीय उपाध्यक्ष जलिल देवना, नगर कमिटी अध्यक्ष त्रिपाठीलगायतका नेताकार्यकर्ता उपस्थित थिए ।