अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा दीप प्रज्वलन
सिमराः अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा आप्रवासी हकहित संजाल बाराले बुधवार साँझ सिमरामा दीप प्रज्वलन प्रज्वलन गरेको छ । संजालले आप्रवासनका समयमा ज्यान गुमाएकाहरुको सम्झनासहित दीप प्रज्वलन गरेको हो ।
संयुक्त राष्ट्र संघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर आप्रवासी दिवस मनाउने गरिन्छ । नेपालमा यस वर्ष ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका साथ यो दिवस मनाइँएको छ ।
आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउनु दिवसको मुख्य उदेश्य हो । दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गर्ने क्रममा प्रत्येक वर्ष दीप प्रज्वलन गर्दै आएको हकहित संजाल बाराले सोही कार्यक्रमलाई निरन्तरता दिएको हो ।
संजालका अध्यक्ष रुद्र खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी मदनबहादुर क्षेत्री, संजालका मधेश प्रदेश महासचिव शंकर सिंखडा, जीतपुरसिमरा नगर कमिटी अध्यक्ष नवराज घिमिरे, उपाध्यक्ष गंगाधर ढकाल, सचिव पुष्कर चौलागाईं, सदस्य सलमा राई, तोयानाथ लुईटेललगायत उपस्थित थिए ।