पूर्वमन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ बारामा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने
सिमराः बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले नेपाल पत्रकार महासंघ बारा शाखामा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।
मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासंघ बारामा निर्वाचित पदाधिकारी र सदस्यलाई शुक्रबार जीतपुरसिमरा ४ स्थित निजी निवासमा सम्मान गर्दै पूर्वमन्त्री श्रेष्ठले उक्त घोषणा गरेका हुन् ।
श्रेष्ठले आफ्नो स्वर्गीय बुवा केवलबहादुर श्रेष्ठको स्मृतिमा उक्त एक लाखको अक्षयकोष स्थापना गर्न लागेका हुन् । उक्त अक्षयकोषबाट प्रत्येक वर्ष एक जना संचारकर्मीलाई पत्रकारिता पुरस्कार प्रदान गर्न समेत पुर्वमन्त्री श्रेष्ठले आग्रह गरेका छन् ।
श्रेष्ठले यसअघि तनहुँमा समेत स्वर्गीय बुवाको नाममा एक लाखको अक्षय कोष स्थापना गरेका थिए । उक्त अक्षयकोषबाट हालसम्म तनहुँमा तीन जना पत्रकार पुरस्कृत भईसकेका छन् ।
कार्यक्रममा पूर्वमन्त्री श्रेष्ठले पत्रकार महासंघको पूर्वाधार निर्माण र पत्रकारको हकहितका लागि आफूले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । सो क्रममा श्रेष्ठले हालै सम्पन्न निर्वाचनबाट विभिन्न तहमा निर्वाचित पदाधिकारी, सदस्यलाई सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले सम्मानका लागि धन्यवाद व्यक्त गर्दै उक्त अक्षयकोषबाट प्रत्येक वर्ष पत्रकारलाई पुरस्कृत गर्ने जनाएका छन् । पत्रकार महासंघलाई व्यवस्थितरुपमा संचालन गर्नका लागि आफूले काम गरिरहेको समेत अध्यक्ष सुवेदीले बताए ।
सुवेदीको नेतृत्वमा निर्वाचित पदाधिकारीले पुस ६ गते शनिबार सपथ तथा पदभार ग्रहण गर्दैछन् ।