जीतपुरसिमराको नगरसभाविरुद्धको रिट निर्देशनात्मक आदेशसहित खारेज


eShilalekh

८ पुष २०८१, सोमबार २०:४९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको १०औं नगरसभाको विषयलाई लिएर उच्च अदालत वीरगन्जमा परेको रिट खारेज भएको छ । न्यायाधीश ऋषीराम गौतम र भरत लम्सालको संयुक्त इजलासले असार २३ गते दायर भएको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको हो ।

निर्देशनात्मक आदेशको पूर्णपाठ भने आउन बाँकी छ । रिट निवेदक वडाध्यक्ष हरिदेव खरेलले सामाजिक संजालमार्फत नगरसभाविरुद्ध रिट खारेज भएको र अबदेखि सहमति बिना नगरसभा नगर्न नगर प्रमुखलाई निर्देशनात्मक आदेश भएको उल्लेख गरेका छन् ।

अदालतको उक्त आदेशसंगै वडाध्यक्ष खरेलसहित ९१ जना नगरसभा सदस्यले नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई विपक्षी बनाएर दायर गरेको रिट खारेज भएको छ भने १०औं नगरसभाको बजेट र नीति तथा कार्यक्रम कार्यान्यवनको बाटो खुलेको छ ।

नगर प्रमुख पौडेलले एकलौटी ढंगले नगरसभा गर्न खोजेको भन्दै ९१ जना नगरसभा सदस्यले रिट दायर गरेका थिए । असार ६ र ८ गते गणपूरक संख्या नपुगेका कारण नगरसभा स्थगित भएको थियो । असार १० गते तेस्रो पटकका लागि बोलाइएको नगरसभा तनावपूर्ण स्थितीकाबीच बिथोलिएको थियो । उक्त बिथोलिएको नगरसभाविरुद्ध ९१ जना सदस्य अदालत गएका थिए ।

तर ६ महिनापछि रिट खारेज गर्दै उच्च अदालतले आगामी दिनमा कानुनले निर्देश गरेको प्रक्रिया पूरा गरेर अघि बढ्न उपमहानगरपालिकाको कार्यालयलाई निर्देशनात्मक आदेश दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्