आकर्षक तलबमा विदेश पठाईदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा बाराका एकसहित दुई पक्राउ


eShilalekh

९ पुष २०८१, मंगलवार १६:३८

सिमराः आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका ८ घर भई हाल काठमाडौं भिमसेनगोला बस्ने सञ्जय साह बानियाँ र उदयपुर रौतामाई गाउँपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने यादबहादुर बुर्जामगर रहेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई क्रोएसिया र साइप्रस पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मगरले क्रोएसिया पठाइदिन्छु भन्दै दुई जनासँग पाँच लाख ७५ हजार रूपैयाँ र सञ्जयले साइप्रस पठाइदिन्छु भन्दै एक जनासँग चार लाख ६० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।

पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मगरलाई काठमाडौं गोकर्णेश्वरबाट र सञ्जयलाई टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्