नेपाली समाज टेक्ससले नेपाली समुदायका लागि अक्षयकोष स्थापना गर्ने
टेक्सस (अमेरिका): नेपाली समाज टेक्ससको बार्षिक साधारणसभाले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । युलेशमा सम्पन्न भएको साधारणसभाले नेपाली समुदायको हकहितका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।
टेक्ससमा नेपाली समुदायको संख्या बढ्दो अवस्थामा रहेकाले आपतकालिन कोषका रुपमा प्रयोग हुने गरी अक्षयकोष स्थापना गर्न लागिएको अध्यक्ष राजेन्द्र वाग्लेले बताए । आपतको समयमा अन्यत्रबाट आर्थिक सहयोग संकलन गर्न नपर्ने गरी कोषलाई अघि बढाईने उनको भनाई थियो ।
साधारणसभाले अक्षय कोषमा सहयोग गर्न सार्वजनिक आहवान समेत गरेको छ । कोषको लागि व्यक्ति वा संघसंस्थाले सहयोग गरेको रकम नेपाली समाज टेक्ससले थपेर (म्याचिङ फण्ड) कोषमा जम्मा गर्नेछ ।
यसअघि सवारी दुर्घटना, मानसिक समस्या, गम्भीर प्रकृतिका स्वास्थ्य समस्या, दाहसंस्कार, शव नेपाल पठाउन आईपर्ने समस्याको समयमा नेपाली समाज टेक्ससले ‘गो फण्ड मि’ मार्फत अपिल गरेर आर्थिक संकलन गर्ने गरेको थियो ।
साधारणसभाले समाजको लागि भौतिक संरचना खरिद गर्ने, ग्लोबल नेपाली पाठशालालाई थप प्रभावकारी बनाउने, समुदाय चेतावनी प्रणालीको स्थापना गर्ने, नेतृत्व विकास, सवारी चालक अनुमति पत्रको परीक्षा नेपाली भाषामा समेत उपलब्ध गराउन पहल गर्ने, नेपालबाट आएका विद्यार्थीलाई अमेरिकी शैक्षिक प्रणालीको बारेमा जानकारी दिने सेमिनार वा वर्कशपको आयोजना तथा करियर परामर्श र सहयोग गर्ने लगायतको निर्णय गरेको छ ।
साधारण सभाले नेपाली समाज टेक्ससका महासचिव बिजय भुसाललाई परेको पितृ शोकमा समवेदना प्रकट गर्नुका साथै नेपाली समुदाय तथा नेपाली समाजका विभिन्न कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई धन्यवाद समेत दिएको छ ।
साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष राजेन्द्र वाग्ले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामकृष्ण यादवले प्रस्तुत गरेका थिए । वाग्लेको अध्यक्षता तथा युलेश सिटीका मेयर लिन्डा मार्टिनको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा प्रो मेयर टीका पौडेल, पूर्व अध्यक्ष डा. प्रेम अधिकारी, भूवन आचार्य, रामसी पोखरेल, दिनेश शर्मा, नेपालकी चर्चित सामाजिक अभियन्ता रेनु राजभण्डारी, नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटालगायतको उपस्थिती रहेको थियो । साधारणसभाको सहजीकरण वरिष्ठ उपाध्यक्ष जनक भण्डारीले गरेका थिए ।