जय ट्रफी एलिट कप अपडेटः आठ विकेटको क्षतिमा आर्मीले बनायो एक सय रन
सिमराः नेपाल क्रिकेट संघको आयोजनामा वीरगन्जमा सुरु भएको दुई दिवसीय जय ट्रफी एलिट कपमा अहिले नेपाल आर्मी क्लबले ब्याटिङ गरिरहेको छ ।
नेपाल पुलिस क्लबविरुद्ध ब्याटिङ गरिरहेको आर्मीले २८.२ ओभरमा आठ विकेट गुमाउँदै एक सय रन जोडेको छ । आर्मीका साहब आलम र पवन कार्कीले अहिले क्रिजमा छन् ।
नारायणी क्रिकेट रंगशालामा टस जितेर पुलिसले आर्मीलाई ब्याटिङको निम्तो दिएको थियो । पुलिसविरुद्ध आर्मीको सुरुवात उत्कृष्ट रहन सकेन । आर्मीले एक रनको अवस्थामा दुई विकेट गुमाएको थियो । ललित राजबंशीले आर्मीका सन्तोष कार्कीलाई १, सोमपाल कामी ५ र त्रितराज दासलाई शुन्य रनमै पेभेलियन फर्काएका थिए ।
आर्मीका कुशल मल्ल २५, भिम सार्की २२, कप्तान विनोद भण्डारी २१ र बशिर अहमदले १२ रन बनाएका छन् ।