जय ट्रफी एलिट कपः पुलिस र आर्मीको खेल बराबरी, साहब आलमको नाममा १० विकेट
वीरगन्जः जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा भएको नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबबीचको खेल बराबरीको सकिएको छ ।
नारायणी क्रिकेट रंगशालामा भएको विभागीय डर्बीमा नतिजा निस्कन सकेन । दुई दिवसीय खेलको दोस्रो दिन आर्मीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले पाँच विकेट गुमाउँदै ८८ रन मात्रै बनाएपछि खेल नतिजाविहिन भएको हो ।
पहिलो इनिङमा चार रनले पछि परेको आर्मीले दोस्रो इनिङ ब्याटिङ गर्दै पुलिसलाई एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । आर्मीका लागि सोमपाल कार्मीले सर्वाधिक ८२ रन बनाए भने तृतराज दासले ३४ रन जोडे ।
ब्याटिङमा खासै जम्न नसकेका कुशल भुर्तेलले दोस्रो इनिङमा आर्मीविरुद्ध चार विकेट लिए । यसैगरी गुलशन झाले तीन, ललित राजवंशीले दुई र रसिद खानले एक विकेट लिए ।
आर्मीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पुलिसका लागि अमृत श्रेष्ठले ३६, अर्जुन साउदले १९ रन बनाए । आर्मीका आकाश चन्द र साहब आलमले समान दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गर्न आएको आर्मीले पहिलो इनिङमा सबै विकेट गुमाएर एक सय २१ रन जोडेको थियो । आर्मीलाई कम स्कोरमै रोक्ने क्रममा पुलिस ललित राजवंशीले सात विकेट लिएका थिए ।
पुलिसले आफ्नो पहिलो इनिङमा एक सय २५ रन बनाएर आर्मीविरुद्ध चार रनको अग्रता लिएको थियो । पुलिसका लागि गुलशन झाले ४७ रन बनाए । पुलिसविरुद्ध घातक बलिङ गर्दै आर्मीका साहब आलमले एक्लैले आठ विकेट लिएका थिए ।
आलमले यस खेलमा १० विकेट लिए । पहिलो इनिङमा पुलिसविरुद्ध आठ विकेट लिएका साहबले दोस्रो इनिङमा दुई विकेट लिए । आलम प्लेयर अफ दि म्याच घोषित भए । यसैगरी पुलिसका ललितले दुवै इनिङमा ९ विकेट लिए ।
आर्मीले अब दोस्रो खेल बागमती प्रदेशसंग जनकपुरमा खेल्नेछ । उक्त खेल बुधबार बिहानदेखि सुरु हुनेछ ।
तस्वीरः क्यान