जीतपुरसिमरा ४ औराहमा भोलिदेखि तीन दिने माघी महोत्सव हुँदै

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहमा पुष २९ गतेदेखि थारु माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा प्रत्येक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको थारु कल्याणकारिणी सभाले पुष २९ गतेदेखि माघ २ गतेसम्म थारु माघी महोत्सव आयोजना गर्न लागेको हो ।
माघी पर्वको विशेषता झल्कने र थारु समुदायको संस्कृतिलाई उजागर तथा संरक्षण गर्ने उदेश्यसहित माघी महोत्सव गर्न लागिएको थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिएका छन् । माघी पर्वसंगै थारु समुदायले नयाँ वर्ष २६८८ समेत मनाउन लागेका हुन् ।
थारु कल्याणकारिणी सभा बारा, जीतपुरसिमरा नगर कमिटी र वडा नं. ४ को कमिटीले संयुक्त रुपमा आयोजना गर्न लागेको तीन दिने महोत्सवमा थारु समुदायको संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, विभिन्न परिकारका खानाका स्टल, बालबालिकाका लागि मनोरञ्जनको व्यवस्था गरिने अध्यक्ष चौधरीले बताए ।
थारु कल्याणकारिणी सभा बाराका सचिव यादव कृष्ण चौधरीले औराहमा हुने माघी महोत्सवमा उत्साहजन सहभागिताका लागि सबैलाई आग्रह गरेका छन् । महोत्सवले थारु समुदायको कला, संस्कृति, महत्वका विषयमा नयाँ पुस्तालाई समेत बुझाउने चौधरीको भनाई थियो ।
जिल्ला अध्यक्ष चौधरीको अध्यक्षमा सम्पन्न पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य हृदयनारायण चौधरी, बाराका उपाध्यक्ष लक्ष्मीकान्त चौधरी, भागवत चौधरीलगायत उपस्थित थिए । पत्रकार सम्मेलनमा प्रमोद चौधरीले सहजीकरण गरेका थिए ।