ल्होछार कप: वीरगन्ज र बेङ्खडी क्वाटरफाइनलमा प्रवेश
सिमरा: वीरगन्ज युनाइटेड क्लब र बेङखडी युवा क्लब निजगढ नगरपालिका १० लालमा जारी तेस्रो ल्होछार कप खुला नकआउट फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुद्धचोक खेक मैदानमा शनिबार भएको पहिलो खेलमा वीरगन्जले अल्तोकी क्लबलाई ४-१ ले र दोस्रो खेलमा बेङखडीले न्यू हिमाल युथ क्लबलाई १-० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो ।
पहिलो खेलमा वीरगन्जका लागि सागर चौधरीले दुई गोल गर्दा विपिन मगर र विवेक चौधरीले समान एक–एक गोल गरे । अल्तोकका लागि सुरेन्द्र चौधरीले एक गोल गोल फर्काए । वीरगन्जका सागर प्लेयर अफ दि म्याच घोषित भए ।
दोस्रो खेलमा बेङखडीको जीतमा सुदिप आलेले निर्णायक गोल गरे । खेलको प्लेयर अफ दि म्याच बेङखडीका मनिष थापा मगर घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेल मकवानपुर-११ र निजगढ युथ क्लबबीच हुनेछ भने दोस्रो खेलमा एभरेष्ट एकेडेमी र योङ स्टार युनाइटेड क्लब भिड्नेछन् ।
योङ स्टार युनाइटेड क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले दुई लाख दुई हजार दुई सय दुई र उपविजेताले एक लाख एक हजार एक सय एक नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १२ गते हुनेछ ।