जनकपुरमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु


eShilalekh

६ माघ २०८१, आईतवार १४:०२

जनकपुरः जनकपुरमा भारतीय मोटरसाईकलको ठक्करबाट आईतबार बिहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका ५ का ६० वर्षीय राजमरी देवी रहेको प्रहरीले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २३ मा तीन जना सवार भारतीय मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार राजमरीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

शनिबार साँझ ५ बजे जनकपुर–जलेश्वर सडकखण्डमा जलेश्वरबाट जिरोमाईलतर्फ आउँदै गरेको बी.आर.०६ डि.जे.२६३२ नम्बरको भारतीय नम्बरको मोटरसाइकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटरमा सवार राजमरी देवी गम्भीर रुपमा घाइते भएकी थिइन । विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा आईतबार बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक ६५ वर्षीय कामेश्वर प्रसाद यादव घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालकसहित त्यसमा सवार तीनजना भने सामान्य घाइते भएका छन् । भारतको जिल्ला सितामढी ददरी बस्ने २९ वर्षीय संजित साह, चालकको श्रीमती २४ वर्षीय रूबी साह र मोटरसाइकलमै सवार जनकपुर उपमहानगरपालिका ४ का १६ वर्षीय सुशान्त साह सामान्य घाइते भएका हुन् ।

उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्