पर्सामा स्रोत नखुलेको ६ लाख भन्दा बढी रकमसहित भारतीय नागरिक पक्राउ

सिमराः सशस्त्र प्रहरी बल पर्साले एक भारतीय नागरिकलाई स्रोत नखुलेको ६ लाख पाँच हजारभन्दा बढी रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला पन्टोका ग्राम पञ्चायत १ भलुवाहा बस्ने ३८ वर्षीय विशेश्वर यादव रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले वीरगन्ज महानगरपालिका १६ भन्सार मेनगेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको बा ४१ प ८४९३ नम्बरको मोटरसाइकल जाँच गर्दा लुकाई छिपाई ल्याइरहेको ६ लाख पाँच हजार एक सय ८५ रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिएका छन् ।
यादवलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।