साविक भवानीपुर जीतपुर गाविसका तत्कालिन सचिव अन्सारीविरुद्ध आरोपपत्र दायर

सिमराः साविक भवानीपुर जीतपुर गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका) का तत्कालिन सचिव आसमहमद अन्सारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
जीतपुरको गुदरी बजार र मिना बजारका सटर उपभोक्तालाई भाडामा लगाउँदा सचिव अन्सारीले अपनाएको विधि पारदर्शी नभएको र सरकारी कागजात नष्ट गरेर धरौटीवापतको रकम हिनामिना गरेको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
अन्सारीले एक सय २१ जना उपभोक्तासंग धरौटीवापत लिएको ३८ लाख ३० हजार पाँच सय रुपैयाँ गाविसको धरौटी खातामा जम्मा गर्नुपर्ने भएपनि सो नगरेर हिनामिना गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्सारीले बदनियतपूर्ण ढंगले हिनामिना गरेको पुष्टि हुने आधार भेटिएपछि आरोपपत्र दायर गरेको प्रवक्ता घिमिरेले जनाएका छन् ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ ले निर्देश गरेवमोजिम अन्सारीसंग उक्त रकम असुल उपर, कैद र जरिवानाको सजाय माग गरेको छ । अन्सारी २०५४ सालदेखि भवानीपुर जीतपुर गाविसमा कार्यरत थिए ।
साविकको भवानीपुर जीतपुर गाविस अहिले जीतपुरसिमरा उपमहानगरपालिकामा पर्दछ ।