गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग

सिमराः बाराको गढीमाई मन्दिर परिसरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै राष्ट्रिय समता पार्टी नेपालले सोमबार गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठसहितको टोलीले गृहमन्त्री लेखकलाई मन्दिर तोडफोड गर्नेको शीघ्र पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको हो ।
पार्टी महासचिव तिवारीद्वारा प्रकाशित विज्ञप्तिमा माघ ३ गते बिहीबार राति करिब १० बजे केही व्यक्ति मन्दिरमा छाडिएका परेवा लैजाने अभिप्रायले गढीमाई मन्दिर परिसरभित्र छिर्दा त्यहाँ खटिएका नगर प्रहरीले रोकेपश्चात् हातपात भएको उल्लेख गरिएको छ ।
साथै, शुक्रवार बिहान पुनः गढीमाई मन्दिर परिसरभित्र प्रवेश गरि दान पेटिका र पङ्खाहरू तोडफोड गरेको दृश्यहरू सिसिटिभी फुटेजमा सहजै देखिएको दाबी गरेको छ ।
मन्दिरमा भएको तोडफोड विरुद्ध तत्काल कारबाही हुनुपर्ने माग राख्दै उक्त पार्टीले ध्यानाकर्षण गराएको हो ।