जीतपुरसिमरा १७ रामनगरमा माघ १४ गतेदेखि ‘सोनाम ल्होछार महोत्सव’ हुँदै, चर्चित कलाकार आउने


eShilalekh

९ माघ २०८१, बुधबार २२:२५

सिमराः २८६१औं सोनाम ल्होछार पर्वको अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका १७ रामनगरमा महोत्सव हुने भएको छ । ‘राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान’ नारासहित माघ १४ गतेदेखि २० गतेसम्म महोत्सव हुन लागेको हो ।

नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति, सम्तेङ लिङ्ग गुम्बा र रामनगर युथ क्लबको संयुक्त आयोजनामा हुन लागेको महोत्सवको व्यवस्थापन लालिगुँरास क्रेयचन मिडिया प्रालिले गर्नेछ । महोत्सवलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को कार्यालयले संरक्षकको भूमिकामा सहयोग गर्ने महोत्वसका संयोजक समेत रहेका रामनगर युथ क्लबका अध्यक्ष साजन दोङले जानकारी दिए ।

महोत्सवमा आकर्षकमा तामाङ समुदायको परम्परागत झाँकी, विभिन्न व्यापारिक स्टल, मनोरन्जन, खानाका स्टल राखिनेछ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ । सात दिनसम्म आयोजना हुने महोत्सवमा एलिना चौहान, समिक्षा अधिकारी, दुर्गेश थापा, प्रीति आले, ज्योति मगर, उर्गेन दोंङ, विन्दु परियार, सुनिल पण्डित, प्रीति पासवान, विशाल काल्तान, लोकेन लामा, जीतु लोप्चन, अनु चौधरी, सोनु कस्मीलगायतको सांगीतिक प्रस्तुति रहने स्थानीय संचारकर्मी सन्तोष पाण्डेले जानकारी दिएका छन् ।

ग्रामीण भेगमा आयोजना हुन लागेको महोत्सवले वडाको कला, संस्कृति र परम्परालाई जोगाइ राख्न, स्थानीय स्तरमा लुकेका सीप, उद्यम, प्रतिभा उजागर गर्न मद्यत पुग्ने वडाध्यक्ष भिमबहादुर गंतानले बताए । महोत्सवको उद्घाटन जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्