जनकपुरमा मोटरसाईकलको ठक्करबाट भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु

जनकपुरः जनकपुरको मधेस भवन नजिक भएको मोटरसाइकल दुर्घटनामा परी शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लक्ष्मिनीया गाउँपालिका वडा नम्बर १ का देवेन्द्र यादव रहेका छन् । उनि भौतिक पूर्वाधार मन्त्रालयका चालक रहेका थिए ।
बिहान कार्यालय जाने क्रममा मधेस भवन अगाडि विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकले ठक्कर दिँदा यादवको मृत्यु भएको जनकपुर प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो । मृतक यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालकसहित २ जना प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।