अमलेखगंजमा ट्याङ्कर व्यवसायीहरू चार सूत्रीय माग राख्दै आन्दोलित


eShilalekh

१४ माघ २०८१, सोमबार १४:४९

सिमराः बाराको अमलेखगंजमा ट्याङ्कर व्यवसायीहरू चार सूत्रीय माग राख्दै नेपाल आयल निगम प्रादेशिक कार्यालय, अमलेखगंजको अगाडि धर्नामा बसेका छन् ।

अमलेखगंज पेट्रोलियम ढुवानी व्यवसायी संघका सचिव कृष्ण बहादुर ठकुरीले निजी ट्याङ्कर व्यवसायीहरूलाई प्राथमिकतामा राखेर काम दिइएकोले आफूहरू बेरोजगार भएको गुनासो गरेका छन् । उनले पेट्रोल पम्पहरूले एउटा निजी ट्याङ्कर मात्र राख्न पाउने नियम कार्यान्वयन गरिनुपर्ने माग गरेका छन् ।

आन्दोलनकारीहरूले ट्याङ्कर रूट व्यवस्थापनदेखि निजी ढुवानी व्यवस्थापनसम्मका विषयमा आफ्नो माग अघि सारेका छन् । पाइपलाइनबाट पेट्रोल आपूर्ति सुरु भएपछि बरोनी–अमलेखगंजमा सञ्चालनमा रहेका १०४ वटा ट्याङ्करलाई करार सम्झौताअनुसार व्यवस्थापन गर्नुपर्ने र एकल ट्याङ्कर मालिक व्यवसायीहरूलाई समेत करार सम्झौतामा समावेश गरिनुपर्ने माग गरेका छन् ।

साथै, ५० लिटरभन्दा बढी इन्धन आपूर्तिको नाममा रहेको दोब्बर प्रकरणलाई खारेज गर्नुपर्ने भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (इकाई अमलेखगंज) का इञ्चार्ज सुक बहादुर गुरुङ्गले निगम प्रशासनलाई तत्काल कदम चाल्न दबाब दिइरहेको बताए ।

यस आन्दोलनमा अमलेखगंज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (इकाई अमलेखगंज), र नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले संयुक्त रूपमा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्