बारामा माघ २३ गतेदेखि एचपीभी खोप अभियान सुरु हुने, दुई चरणमा खोप लगाईने
सिमराः राष्ट्रीय खोप अभियान अन्तर्गत बारामा पनि पाठेघर रोगविरुद्घको खोप (एचपीभी) लगाइने अभियान सुरु भएको छ । माघ २३ गतेदेखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभि) खोप अभियान सुरु हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालयको सभाहलमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी स्वास्थ्य कार्यालय बाराले खोपको महत्वबारे जानकारी गराएको थियो । स्वास्थ्य कार्यालय बाराका अनुसार एचपिभि खोप पूर्ण रूपमा सुरक्षित रहेको छ । किशोरीहरूको जीवन रक्षाकालागी खोप प्रभावकारी उपाय भएकोले अभिभावकहरूले आफ्ना बालिकालाई खोप लगाउन प्रेरित गर्नुपर्ने बताइएको छ ।
विश्व स्वास्थ्य संगठनका सुदिश अधिकारीले कक्षा ६ देखि १० सम्मका किशोरीहरु र विद्यालय बाहिरका १० बर्ष देखि १४ बर्ष उमेर समुहका किशोरीहरुलाई खोप दिइने तयारी गरिएको जनाए । उनका अनुसार अभियानको पहिलो दिन विद्यालय तथा अन्तिम दिन स्वास्थ्य चौकिहरुमा खोप लगाईनेछ ।
यहाँ प्रथम चरणमा माघ २३–२५ गतेसम्म जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, विश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाँउपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिकामा खोप लगाईनेछ ।
त्यस्तै दोस्रो चरणमा फाल्गुन ४–६ गतेसम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, महागढीमाई नगरपालिका र करैयामाई गाउँपालिकाका किशोरीहरुलाइ यो खोप लगाईनेछ ।
जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव, बारा प्रहरीका डिएसपी प्रकाश सापकोटा, प्रादेशिक अस्पताल कलैयाका मेसु डा.अजय गुप्ता, शिक्षा बिकास समन्वय ईकाई बाराका प्रमुख हेमराज खतिवडा, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदी, उधोग बाणिज्य संघका महासचिव रामाशिश साह, एन प्याबशन बाराका उपाध्यक्ष सुमोध कुमार सर्राफसहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
सरकारले २०८१ माघ २२ देखि फाल्गुण ६ गतेसम्म देशभरी एकै पटक एचपीभी खोप अभियान सञ्चालन गर्दैछ ।