महाकुम्भ मेलामा पर्साका एक महिलासहित तीन जना सम्पर्कविहीन


eShilalekh

१८ माघ २०८१, शुक्रबार १३:४३

सिमराः भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा गएका पर्साका एक महिलासहित दुई पुरुष सम्पर्कविहीन भएका छन् ।

पर्साको पोखरिया नगरपालिका १ बनकटवा गाउँकी ४३ वर्षीय चन्दकिशोरी देवी गिरी महाकुम्भ मेलामा बुधवार बिहानदेखि सम्पर्कविहीन छिन् । मेलामा भागदौड हुँदा उनि सम्पर्कविहिन भएकी हुन् । उनिसंगै महाकुम्भमा गएका स्थानीयले चन्द्रकिशोरी सम्पर्कविहिन भएको जानकारी दिएको वडाध्यक्ष प्रमोद गिरीले बताए ।

वडाध्यक्ष गिरीका अनुसार चन्दकिशोरी देवीसँगै गाउँका ६/७ जनाको टोली ६ दिन अघि प्रयागराजको महाकुम्भ मेलामा गएका थिए ।

पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले आफ्नो फेसबुक पेजमा चन्दकिशोरी देवीको तस्वीर पोस्ट गर्दै खोजी कार्यमा सहयोग गरिदिन अपिल गरेका छन् । उनलाई फेला पार्ने व्यक्तिले ह्वाट्सएप नम्बर ९८०६८१८९४७ मा सम्पर्क गर्न प्रमुख चौहानले अनुरोध गरेका छन् ।

यसैगरी पर्साको जगरनाथपुर गाउँपालिका ३ विजवानिया निवासी ६५ वर्षीय रजु राउत अहिर र ६० वर्षीय उमाकान्त गिरी पनि सम्पर्कविहीन भएका छन् ।

अहिरका नाति धनञ्जय यादवका अनुसार उनिहरु भागदौडका क्रममा हराएका हुन् । उनीहरू वीरगन्जबाट माघ ४ गते बिटोर काँवर लिएर विभिन्न धार्मिक स्थलमा पूजा गर्दै महाकुम्भ पुगेका थिए । अहिर र गिरीसँगै रहेको टोलीले उनीहरूको खोजी कार्य गरिरहेको छ । भारतका स्थानीय सुरक्षाकर्मी र सरकारी अधिकारीहरूसँगको सहकार्यमा उनीहरूको खोजी कार्य जारी रहेको उनले बताए ।

यादवले नेपाली र भारतीय सम्पर्क नम्बरहरू सार्वजनिक गर्दै अहिर र गिरीको विषयमा कुनै जानकारी हुने व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्