वीरगन्जको नारायणी अस्पताल पुनर्निर्माणको माग गर्दै चिकित्सकसहित स्वास्थ्यकर्मीद्वारा धर्ना
सिमराः वीरगन्जको नारायणी अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुले शुक्रवार अस्पताल परिसरमा धर्ना दिँदै सरकारको ध्यानाकर्षण गराएका छन् । भवनको अभावले उपचारमा समस्या भएको भन्दै त्रिभुवन राजपथ अन्तर्गत पर्ने अस्पताल अगाडिको सडकमा स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् ।
नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. नीरज कुमार सिंहले नारायणी अस्पतालको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारको लापरबाहीको आलोचना गरे । उनका अनुसार अस्पतालको भवन निकै जीर्ण रहेको र चिकित्सकहरू ज्यानकै बाजी लगाएर बिरामीहरूको उपचार गर्न बाध्य रहेका छन् ।
डा. सिंहले सरकारलाई अविलम्ब पुनर्निर्माण कार्य अघि बढाउन आग्रह गरे । उनले नारायणी अस्पताल मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्र भएको र यसले समस्त मधेश प्रदेशका जिल्ला तथा छिमेकी भारत गरी करिब ३० लाख जनसंख्यालाई सेवा दिइरहेको बताए । स्वास्थ्य उपचारजस्तो महत्वपूर्ण विषयमा सरकारले चासो नदेखाउनु गम्भीर लापरबाही भएको उनले बताए ।
चिकित्सकहरूले नारायणी अस्पताल सुधारका लागि पहिलो पटक नेपालकै पहिलो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध गर्दै विरोध जनाएका छन् । सरकारले अस्पताल पुनर्निर्माण तत्काल अघि नबढाए, आन्दोलन झनै सशक्त बनाइने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन् ।