महिला किसान संघको मधेस सम्मेलन सम्पन्न, गिरीको अध्यक्षतामा कमिटी चयन
सिमराः महिला किसान संघ मधेस प्रदेशको प्रथम सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले आशिका गिरीको अध्यक्षतामा २५ सदस्यीय मधेस प्रदेश कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा पार्वती चौधरी, उषा दाहाल, सचिवमा सुशिला पाण्डे, कोषाध्यक्षमा मीना सुनार, उपसचिवमा सुनिता चौधरी र सरस्वती चौधरी चयन भएका छन् ।
धनुषाको नकटाझिरस्थित कृषि फर्ममा आयोजित सम्मेलनमा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेती, महिला किसान संघकी केन्द्रीय अध्यक्ष सरिता भुसाल, महासंघको केन्द्रीय सचिव उमेश गुप्ता, उपमहासचिव प्रेम नारायण अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
अखिल नेपाल किसान महासंघ मधेस प्रदेशका अध्यक्ष निरञ्जन चौधरीको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट सयौंको संख्यामा महिलाको उपस्थिती रहेको थियो ।