बारामा ६४ लाख बराबरको सामानसहित ट्रक र पिकअप प्रहरीको नियन्त्रणमा


eShilalekh

२३ माघ २०८१, बुधबार १७:३५

सिमराः बारा प्रहरीले बिल बिजक भन्दा बढी र स्रोत खुलाउन नसकेको ६४ लाख बराबरको सामानसहित ट्रक र पिकअप नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट समेत खटिएको प्रहरी टोलीले ६४ लाख २२ हजार ४५० मूल्य बराबरका सामानसहितको ट्रक तथा पिकअप नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्ज चोकबाट ना ६ ख ८३०५ नम्बरको ट्रक पक्राउ गरेको हो । वीरगन्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको उक्त ट्रकबाट ४१ लाख ८६ हजार ३ सय रुपैँयाको लत्ताकपडा, टायर, लिड लाइट, चिनी लगायतका सामान बरामद भएको उनले बताए ।

यसैगरी सोही ठाउँबाट प्रहरीले वीरगन्जदेखि काठमाण्डौँका लागि छुटेको प्र २–०३–००१ च ०७७५ नम्बरको पिकअप पक्राउ गरेको हो । पिकअपलाई जाँच गर्दा लोड रहेका २१ लख ७४ हजार ८०० रुपैँया बराबरको ४७ बोरा ब्रास युटेनसिलको बिल शंकास्पद देखिएकाले पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यस्तै जीतपुरसिमरा–१ पथलैया चोकबाट गौरबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ६ ख १४६३ नम्बरको बसबाट ६१ हजार ३५० बराबरका ४ कार्टुन चार्जर र डाटाकेवल बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएका सामानसहित गाडी नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्