तीन वर्षीय अंश चौधरीको खोजीमा तालिमप्राप्त कुकुरको प्रयोग, अवस्था अझै अज्ञात

सिमराः बाराको जीतपुरबाट माघ १७ गतेदेखि हराएका तीन वर्षीय अंश चौधरीको खोजीमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको छ । वीरगन्जस्थित विपद् व्यवस्थापनमा रहेका दुई वटा फरक क्षमताका तालिम प्राप्त कुकुर ल्याएर प्रहरीले बालकको खोजी गरेको हो ।
बालकलाई अन्तिम पटक देखिएको वीरगन्ज महानगरपालिका ३२ स्थित दसविगाह र जीतपुरसिमरा ७ स्थित टेडा रोडको कबरस्थान नजिकको क्षेत्रबाट प्रहरीले खोजी गरेको थियो । दसविगाह नजिकका स्थानीयले बालकलाई देखेको र टेडा रोडमा बालकलाई सिसिटिभी फुटेजमा देखिएको आधारमा प्रहरीले दुवै ठाउँबाट खोजी गरेको हो ।
प्रहरीले बालकको चप्पल र लुगा सुँघाएर तालिमप्राप्त कुकुरलाई खोजीमा प्रयोग गरेको थियो । दसविगाह क्षेत्र र कबरस्थानबाट पहिल्याउन थालेको कुकुर वीरगन्ज महानगरपालिका ३२ स्थित टेडा चोकमा आएको रोकिएको थियो । टेडा चोकबाट उत्तरतर्फ दसविगाह क्षेत्र पर्दछ ।
ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा वाईवाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखा, ईलाका प्रहरी कार्यालय जीतपुर, प्रहरी चौकी पथलैयाका प्रहरीको टोली कुकुर लिएर उक्त क्षेत्रमा पुगेको थियो ।
रौतहट घर भएका रितेश चौधरी र अञ्जली चौधरीका तीन वर्षीय छोरा अंश आफनो मामाघर आएका बेला हराएका हुन् । उनी डेढ महिनादेख जीतपुरस्थित मामाघरमा बस्दै आएका थिए ।
बेपत्ता बालकलाई बजार क्षेत्रको विभिन्न सिसिटिभी क्यामरामा देखिएको छ । सोही सिसिटिभी फुटेजका आधारमा प्रहरीले खोजी गरिरहेको हो ।
चौधरी परिवारले बालकको अवस्थाबारे जानकारी दिनेलाई एक लाख र बारा क्षेत्र नं. ४ का सांसद किसान श्रेष्ठले ५१ हजार नगद दिने घोषणा गरेका छन् ।