बारा प्रहरीद्वारा ५५ किलो लागूऔषध गाँजासहित मोटरसाईकल नियन्त्रणमा

सिमराः बारा प्रहरीले ५५ किलो लागूऔषध गाँजासहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट प्रहरीले लागूऔषध गाँजासहित मोटरसाईकल नियन्त्रणमा लिएको हो ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले हेटौडाबाट वीरगन्ज तर्फ जादै गरेको बा.प्र.०२–०४४ प ६७५५ नम्बरको मोटरसाईकलमा २७ किलो ९० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । मोटरसाईकलमा सवार दुई जना भने फरार रहेका छन् ।
यसैगरी हेटौडाबाट वीरगन्ज तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाईकलबाट प्रहरीले २८ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि उनिहरु झोला फाली फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले लागूऔषध गाँजा बरामद गरि आवश्यक कानूनी प्रक्रिया अगाडी बढाएको छ ।