बारा प्रहरीद्वारा नगदसहित नियन्त्रणमा लिएका तिन जना अनुसन्धानपछि रिहा

सिमराः जिल्ला प्रहरी कार्यालय बाराले ठूलो मात्रामा नेपाली र भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको तीन जनालाई अनुसन्धानपछि रिहा गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित दरपा ४ का उजीर मियाँ, विहार राज्यकै छौडादानो बुदबाहा ६ का समिर आलम र बुदबाहाका गफार मियाँ रहेका छन् ।
प्रहरीका अनुसार माघ २६ गते साँझ ५ बजे नारायणघाटबाट वीरगञ्ज आउँदै गरेको ना ५ ख ६५४४ नम्बरको यात्रु बस जाँच गर्दा तीन जना व्यक्तिको साथबाट नेपाली रुपैयाँ १० लाख १७ हजार ५०० र भारतीय रुपैयाँ एक लाख ४७ हजार ५०० फेला परेको थियो ।
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू सिरक, डसना, गद्दा तथा अन्य कपडाका समान बिक्री गरेर आर्थिक उपार्जन गर्ने समूहका सदस्य रहेको खुलेको छ ।
उनीहरूले आफ्नो आम्दानी सामूहिक रूपमा सङ्कलन गरी घर पठाउने गरेको विवरण पाएपछि प्रहरीले आवश्यक छानबिन गरी रकम जिम्मा लगाएर रिहा गरेको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।