जीतपुरसिमराबाट तीन दिनमा २१ किलो अफिम बरामद, पाँच जना पक्राउ

सिमराः ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले पाँच किलो अवैध लागूऔषध अफिमसहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ६ का गोगनेका २५ वर्षीय भूवन सिंह थिङ्ग रहेका छन् ।
प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले राजमार्गमा सवारी जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध अफिम बरामद गरेको हो । हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको बा३६प २७१४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा सिट मूनि लुकाएर राखेको अवस्थामा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिएका छन् ।
अफिमसहित पक्राउ परेका थिङ्गमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यो संगै जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले पछिल्लो तीन दिनमा २१ किलो अफिम बरामद गरेको छ ।
यसअघि माघ २९ गते सिमराबाट प्रहरीले १३ किलो अफिम बरामद गरेको थियो । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दीपक बस्नेतको नेतृत्वमा रहेको प्रहरी टोलीले मंगलबार सिमरा चोकबाट १३ किलो अफिमसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका ६ का सूर्यबहादुर मोक्तान र कैलाश गाउँपालिका ८ का भीमबहादुर मोक्तान रहेका छन् । हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको मधेस प्र. ०३–००१प १६१४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा सिट मूनि लुकाएर राखेको अवस्थामा अफिम बरामद गरेको हो । अफिमसंगै उनिहरुको साथबाट प्रहरीले एक लाख ३३ हजार नगद बरामद गरेको थियो ।
यसैगरी बुधबार ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक कार्कीको नेतृत्वको टोलीले चार किलो अफिम र सात किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको थियो ।
हेटौंडाबाट वीरगन्जतर्फ आउँदै गरेको प्र. ३–०२–००७ प ८२३९ नम्बरको मोटरसाइकलको सिट मूनी र झोलामा लुकाएर ल्याईरहेको अवस्थाबाट प्रहरीले अफिम र गाँजा बरामद गरेको हो । प्रहरीले लागूऔषधसंगै निजगढ नगरपालिका १३ डम्मरपुरका २२ वर्षीय सञ्जय मोक्तान र धादिङ गजुरी गाउँपालिका ३ का २९ वर्षीय सुनबहादुर थिङ्गलाई समेत पक्राउ गरेको थियो ।

अमलेगञ्जको प्रहरी टोलीले मंगलबार ५५ किलो गाँजा समेत बरामद गरेको थियो । तीन दिनमा अवैध लागूऔषध अफिम र गाँजासहित पक्राउ परेका पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।