फोनिज मधेस प्रदेशको साधारणसभा फागुन तेस्रो साता कोल्हबीमा हुने


eShilalekh

५ फाल्गुन २०८१, सोमबार २१:२९

सिमराः नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशको साधारणसभा फागुन तेस्रो साता बारामा हुने भएको छ । फोनिज मधेस प्रदेश कमिटीले कोल्हबीमा फागुन १७ गते साधारणसभा गर्न लागेको हो ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम तय भएको फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीले जानकारी दिए । साधारणसभाले फोनिज मधेस प्रदेशको नेतृत्व समेत चयन गर्नेछ ।
साधारणसभाको अवसरमा फोनिजले चार जना पत्रकारलाई १० हजार राशीको पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । चौधरीका अनुसार क्रियटिभ क्रियाशील पत्रकारिता पुरस्कारबाट दुई जना र देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारबाट दुई जना पुरस्कृत हुनेछन् ।

पुरस्कार वितरणका लागि फोनिजले अध्यक्ष चौधरीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति समेत चयन गरेको छ । समितिमा महासचिव बृजमान तामाङ र कोषाध्यक्ष ज्योती लामा सदस्य रहेका छन् ।

क्रियटिभ वल्र्डको सहयोगमा ‘क्रियटिभ पत्रकारिता पुरस्कार’ स्थापना

फोनिजले प्रदान गर्न लागेको ‘क्रियटिभ क्रियाशील पत्रकारिता पुरस्कार’ क्रियटिभ वल्र्ड डिजिटल प्रालिको सहयोगमा स्थापना गरिएको हो । प्रालिका संचालक कमलबाबु चौधरीले सामाजिक उत्तरदायित्व अन्तर्गत संचारकर्मीलाई प्रोत्साहन गर्न सहयोग गरिएको बताए ।

कोल्हबी नगरपालिका १० बेल्वाका चौधरीले यसअघि पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । चौधरीद्धारा संचालित संस्थाकै प्रायोजनमा केही समय अघि क्रियटिभ जीतपुरसिमरा भेट्रान फूटबल प्रतियोगिता आयोजना भएको थियो ।

देवनारायण गनिया स्मृति पत्रकारिताको संरक्षकमा दाजुभाइ

देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार करैयामाईँ गाउँपालिका ८ का किशोरीप्रसाद चौधरी तथा महेन्द्रप्रसाद चौधरी सहयोगमा स्थापना गरिएको हो । किशोरी र महेन्द्र दाजुभाई हुन् ।

चौधरी दाजुभाइले आफू संरक्षक रहने गरी फोनिजसंग सहकार्य गरेर बुवाआमाको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् । सामाजिक कार्यमा सक्रिय चौधरी दाजुभाइले यसअघि १५ कट्ठा जग्गा विद्यालयका लागि दान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्