वीरगन्जमा ‘आधुनिक भोजपुरी समालोचना’ पुस्तकको विमोचन

सुष्मा शर्मा
वीरगन्जः वीरगन्ज महानगरपालिकाद्वारा गठित भोजपुरी प्रतिष्ठान वीरगन्जको आयोजनामा ‘आधुनिक भोजपुरी समालोचना’ पुस्तकको बुधबार लोकार्पण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्ज–४ स्थित कन्या माध्यमिक विद्यालयको सभाहलमा प्रतिष्ठानका सल्लाहकार एवं भाषा आयोगका सदस्य गोपाल अश्कद्धारा लिखित ‘आधुनिक भोजपुरी समालोचना’ पुस्तकको लोकार्पण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भारत बिहारका बरिष्ठ साहित्यकार प्रो.डा.हरिन्द्र हिमकरले पुस्तकको विभिन्न पक्षहरुको बारेमा चर्चा गरेका थिए । पुस्तक नेपाली भाषामा लेखिए पनि भोजपुरी भाषा, कला, संस्कृति लगायतका विषयहरु समेटिएकोमा उनले खुसी व्यक्त गरे ।

भोजपुरी प्रतिष्ठान वीरगन्जकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डे ‘हेरम्ब’, डा. विश्वम्भर शर्मा र कुमार सचितानन्दले पुस्तकमा समेटिएका विषयवस्तुहरुको बारेमा आफ्ना भनाई राखेका थिए ।
सो अवसरमा अखिल भारतीय भोजपुरी साहित्य सम्मेलन भारतका साहित्य मन्त्री गुलरेज सहजाद, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, उपाध्यक्ष रितुराज, कलवार सेवा समाजका पूर्व अध्यक्ष इन्द्रदेव साह, विक्रम साह, विजयकिशोर पाण्डे, शतिस चन्द सज्जल, अनिशकान्त कुश्वाहा, लेखिका अस्मिता पटेल, छोटेलाल साह एवं प्रतिष्ठानका सदस्यहरु, साहित्यकार, कलाकार, सञ्चारकर्मी लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतिष्ठानका कार्य समिति सदस्य अमोद गुप्ताले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजिकरण श्याम सर्राफले गरेका थिए ।