बाराका नापी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


eShilalekh

९ फाल्गुन २०८१, शुक्रबार १३:४२

सिमराः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाराका तत्कालीन अधिकृत (हाल अवकाश प्राप्त) दीनानाथ मिश्रसहित आठ जनाविरुद्ध्र भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी लिखत किर्ते गरी जग्गा बिक्री गरेको आरोपमा आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार मिश्रसहित सोही कार्यालयका तत्कालीन सर्वेक्षक तथा हाल पर्सा जिल्लाका नापी अधिकृत शिवबालक साह, मालपोत कार्यालय बाराका अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका लेखापढी व्यवसायी जयलाल सहनी, सोही उपमहानगरपालिकाका जग्गाधनी सुदामाप्रसाद चौधरी थारू र रामपतिदेवी थरूनीविरुद्ध मुद्दा दायर गरिएको छ ।

त्यस्तै नापी कार्यालय बाराका तत्कालीन सर्वेक्षक सुनीलकुमार झाविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनिहरुलाई जनही एक लाख ५० हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।

बाराको साविक डुमरवाना गाविस–६ क को क्षेत्रफल ज.बि. ०–१–० भएको जग्गाको श्रेस्तामा कीर्ते गरी क्षेत्रफल ०–३–१० कायम गरी बिक्री गरेको, त्यस्तै क्षेत्रफल ज.बि. ०–२–१० भएको जग्गाको श्रेस्तामा कीर्ते गरी क्षेत्रफल ०–६–० कायम गरी नापी कार्यालय बारा र मालपोत कार्यालय बारा समेतको मिलेमतोमा श्रेस्ता पुर्जा तयार गरी ठगी गरेको आयोगले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका १५ का जग्गाधनी सुदामा प्रसाद चौधरीले आफ्नो श्रीमती रामपति देवी थरुनीको नाममा रहेको जिल्ला बारा डुमरवाना गाविसस्थित कित्ता नम्बर २२१ र कित्ता नम्बर २८३ को जग्गाको क्षेत्रफल बढाई बिक्री गर्न लेखापढी व्यवसायी जयलाल सहनीलाई १ लाख ५० हजार घुससमेत दिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

सहनीले उक्त रकम तत्कालीन नापी कार्यालय बारामा कार्यरत सर्वेक्षक सुनिलकुमार झालाई दिई उनीमार्फत उक्त रकम अन्य प्रतिवादीहरूले समेत प्राप्त गरी मिलेमतोमा गैरकानूनी लाभ लिई गलत लिखत तयार गर्ने तथा सरकारी लिखत सच्चाउने कसुरमा संलग्न रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्