आदर्श कोतवालबाट उद्धार गरिएकी बालिकालाई अभिभावकको जिम्मा लगाईयो

सिमराः बाराको आदर्श कोतवाल गाउँपालिकाबाट गत शुक्रबार उद्धार गरिएकी एक १० वर्षीया बालिकालाई अभिभावकको जिम्मा लगाईएको छ । सडकमा अलपत्र परेको अवस्थामा उद्धार गरिएकी बालिकालाई रौतहटको गुजरा पुगेर अभिभावकको जिम्मा लगाइएको हो ।
वीरगन्जस्थित सानो पाइलाका प्रतिनिधिले गुजरा नगरपालिकाका जनप्रतिनिधिको रोहबरमा बालिकालाई बुवाको लगाएका थिए । प्रहरीद्धारा उद्धार गरिएकी बालिका पाँच दिनदेखि सानो पाइलाद्धारा संचालित सानो घरको संरक्षणमा थिईन् ।
अभिभावकको पहिचान भएपछि नगरपालिकाको कार्यालयमा पुगेर सरोकारवाला निकायको उपस्थितिमा बालिकालाई जिम्मा लगाइएको सानो पाइलाका संचालन प्रमुख विवेक कर्णले जानकारी दिएका छन् । सडकबाट उद्धार गरिएकी बालिका फरक क्षमताकी थिईन् ।
बोल्न नसक्ने भएका कारण अभिभावक पहिचानमा कठिनाई भईरहेको थियो । सडकबाट उद्धार गर्दा बालिकाको हात जलेर घाउ भएको अवस्थामा थियो ।
सडकबाट उद्धार गरेलगत्तै जिल्ला प्रहरी कार्यालय बाराले माइती नेपालसंग समन्वय गरेर बालिकालाई उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगेको थियो । उपचारपछि सानो पाइलाले बालिकालाई संरक्षण गर्दै आएको थियो ।
तस्वीर सौजन्यः सानो पाइला