पचरौता नगरपालिकामा पहिलो पटक उपसचिवको आगमन


eShilalekh

१२ फाल्गुन २०८१, सोमबार १२:३१

सिमराः बाराको पचरौता नगरपालिकामा पहिलो पटक उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय बमोजिम उपसचिव नरेन्द्र परियारले आइतबार नगरपालिकाको कार्यालय पुगेर हाजिर गरेका हुन् ।

मन्त्रालयले फागुन ५ गते परियारलाई पचरौता नगरपालिकामा सरुवा गर्ने निर्णय गरेको थियो । पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत वरिष्ठ अहेव गौरी साहको जिम्मेवारी बदर गर्दै मन्त्रालयले अतिरिक्त समूहमा रहेका परियारलाई पचरौता सरुवा गरेको थियो ।

पचरौतामा उपसचिव स्तरका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएको यो पहिलो पटक हो । २०७४ सालदेखि उक्त पालिकाको प्रशासनीक काम अधिकृत स्तरका कर्मचारीको नेतृत्वमा सम्पादन हुँदै आएको थियो ।

मन्त्रालयको निर्णय बमोजिम हाजिर भएका उपसचिव परियारलाई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् । पहिलो पटक उपसचिव स्तरका कर्मचारी हाजिर भएको भन्दै नगर प्रमुख जलान्धर सिंहले पालिकाको कार्यसम्पादन राम्रो हुनेमा आफू आशावादी रहेको बताए ।

नगरपालिकाकी उपप्रमुख नसिमा खातुन, प्रवक्ता लक्ष्मी यादव, वडाध्यक्ष धेनुक राउत, मकबुल मियाँ, बनारसी बिन, प्रेम चौधरी, गगनदेव यादव लगायतले उपसचिव परियारलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्