बाराका एक जना ४३ ग्राम सुनसहित पक्राउ

सिमराः बाराको कोल्हवी नगरपालिकाका एक जनालाई ४३ ग्राम सुनसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोल्हवी नगरपालिका ५ का ३३ वर्षीय जस जोशी चौधरी रहेका छन् ।
विशेष सूचनाको आधारमा मकवानपुर प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले उनलाई हेटौँडा १५ रातोमाटे क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा कोल्हवीबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख ५१२९ नम्बरको बस रोकेर जाँच गर्दा चौधरीको साथबाट ४३.३८ ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद भएको हो ।
बरामद भएको उक्त धातुको आजको बजार मूल्य ६ लाख ३५ हजार २२६ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।