करैयामाई गाउँपालिकाले सामूहिक विवाह कार्यक्रम गर्ने, इच्छुकसंग माग्यो आवेदन


eShilalekh

१२ फाल्गुन २०८१, सोमबार १८:५४

सिमराः बाराको करैयामाई गाउँपालिकाले विपन्न तथा असहाय परिवारलाई लक्षित गरेर सामुहिक विवाह कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँपालिकाको कार्यालयले सोमबार सूचना जारी गर्दै सामूहिक विवाह कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ ।

गाउँपालिकाको १५औं गाउँसभाबाट पारित योजना अन्तर्गत १० लाखको बजेटमा सामूहिक विवाह कार्यक्रम गर्न लागिएको हो । वैशाख ११ गते हुने उक्त वैवाहिक कार्यक्रममा सहभागी हुन चैत्र १५ गतेभित्र आवदेन दिनुपर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोद्धारा जारी सूचनामा उल्लेख छ ।

वैवाहिक कार्यक्रमका लागि गाउँपालिका भित्र बसोबास गर्ने २० वर्ष उमेर पूरा भएका युवतीले मात्रै आवदेन दिन पाउने अधिकृत महतोले बताए । गाउँपालिकाले वैवाहिक कार्यक्रममा सहभागी हुने बेहुला र बेहुलीको नागरिकता तथा जन्मदर्ता अनिवार्य गरेको छ ।

वैवाहिक कार्यक्रममा सहभागी हुन आवेदन दिएका युवतीको परिवार विपन्न रहेनरहेको पहिचान गरिने र त्यसपछि मात्रै वैवाहिक कार्यक्रममा सहभागी गराईने महतोको भनाई छ । आवेदन दिएर वैवाहिक कार्यक्रमका लागि छानिएका युवतीको खर्च र भोजन गाउँपालिकाको कार्यालयले व्यहोर्ने छ ।

प्रतिक्रिया दिनुहोस्