बारा प्रहरीद्वारा २५ किलो लागूऔषध गाँजासहित चार जना पक्राउ

सिमराः बारा प्रहरीले २५ किलो लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका १ का ४० वर्षीय अर्जुन रूम्बा, सोही ठाउँका ३४ वर्षीय राजु लामा, ३१ वर्षीय प्रदीप मोक्तान र वीरगन्ज महानगरपालिका १८ इनर्वाका २१ वर्षीय राजकिशोर कुर्मी रहेका छन् ।
प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया चोकमा नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको बा४ख ७५१७ नम्बरको यात्रुबाहक बस रोकेर जाँच गर्ने क्रममा बसको सिटमुनि लुकाइएको अवस्थामा २१ किलो गाँजा बरामद गरेको हो । उक्त बसबाट गाँजासहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगन्ज चोकमा पैदल यात्रीलाई रोकेर जाँच गर्ने क्रममा राजकिशोर कुर्मीको झोलाबाट ४.९ किलो लागूऔषध गाँजा बरामद गरेको हो ।
पक्राउ परेका चारै जनामाथि लागूऔषध मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।