अमलेखगञ्जबाट डेढ किलो अफिमसहित एक जना पक्राउ


eShilalekh

१३ फाल्गुन २०८१, मंगलवार २०:३१

सिमराः प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट मंगलबार डेढ किलो लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीद्धारा पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ६ पकनी घर भएका २१ वर्षीय रवीन्द्र मोक्तान रहेका छन् ।

हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको बा६३प ८२६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको टोलीले अफिम बरामद गरेको हो । उक्त मोटरसाइकल मोक्तानले चलाएका थिए ।

मोटरसाइकलको सिट मूनि लुकाएर राखिएको एक किलो सात सय ५० ग्राम अफिम बरामद भएपछि मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिपकुमार थापाले जानकारी दिएका छन् । मोक्तानलाई बारा जिल्ला अदालतबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थप गरी कारवाही थालिएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्