पर्सामा तीन वर्षीया बालिका मृत अवस्थामा फेला

सिमराः वीरगन्ज महानगरपालिका १७ अलौमा एक बालिका बुधवार मृत अवस्थामा फेला परेकी छन् ।
स्थानीय दिपक यादवकी तीन वर्षीया छोरी रिंकी कुमारी यादव मृत अवस्थामा फेला परेकी छन् । उनी सोही ठाउँको सार्वजनिक पोखरीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
अभिभावकले बुधवार बिहान बालिका हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । केही समयपश्चात स्थानीयबाट बालिका पोखरीमा डुबेको अवस्थामा फेला परेको सूचना प्राप्त भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक श्याम बस्नेतले बताए ।
प्रहरी टोली घटनास्थलमा पुग्नुअघि नै परिवारका सदस्यहरूले बालिकाको शव पोखरीबाट निकालेको उनले जानकारी दिए । बालिकाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ ।
बालिकाको मृत्यु शङ्कास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि मात्र विस्तृत जानकारी खुल्ने प्रहरीले जनाएको छ ।