भारतबाट भित्रिने पोल्ट्रीजन्य वस्तु नियन्त्रण गर्न कुखुरा पालक संघको माग


eShilalekh

१८ फाल्गुन २०८१, आईतवार १९:४५

सिमराः नेपाल लेयर्स कुखुरा पालक संघले भारतबाट अवैधरुपमा भित्रिने पोल्ट्रीजन्य वस्तु नियन्त्रण गर्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय वीरगन्जमा आइतबार भएको सर्वपक्षीय छलफलका क्रममा संघका पदाधिकारीले भारतबाट अवैधरुपमा भित्रिरहेको अण्डा, चल्ला, कुखुरा, तयारी मासुलगायतका वस्तु तत्काल नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको ध्यानाकर्षण गराएका हुन् ।

संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले बर्ड फ्लुको बढ्दो जोखिमकाबीच भारतबाट आईरहेको पोल्ट्रीजन्य वस्तु तत्काल नियन्त्रण नभए मानव स्वास्थ्यसंगै नेपालमा पोल्ट्रीजन्य व्यवसाय गर्दै आएका व्यवसायी र किसानमाथि खतरा बढ्दै गएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् । भारतबाट अण्डा, कुखुरा ल्याउन सरकारले रोक लगाएपनि नेपाली बजारमा भारतीय कुखुरा र अण्डाको विक्री वितरण खुलेयाम भईरहेको गुनासो पोखरेलले गरेका छन् ।

मानव स्वास्थ्यसंग असुरक्षित बन्नुका नेपालमा बर्ड फ्लुको संक्रमण बढ्ने जोखिम समेत अत्यन्तै धेरै रहेको भन्दै पोखरेलले तत्काल यस्तो गतिविधिलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । ‘भारतबाट अवैधरुपमा अण्डा र कुखुरा मात्रै भित्रिरहेको छैन । संक्रमण पनि भित्रिरिहेको छ’ पोखरेलले भने ‘नेपालमा यसको संक्रमण बढ्यो भने यसबाट सर्वसाधारणसंगै व्यवसायी र किसान मारमा पर्ने निश्चित छ ।’

व्यवसायीको गुनासोपछि प्रमुख जिल्ला अधिकारी अर्यालले नेपाल सरकारले रोक लगाएको पोल्ट्रीजन्य वस्तु नियन्त्रणमा कडाई गरिने बताएका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले भारतीय पोल्ट्रीजन्य वस्तु भित्रिन रोक लगाउने र नेपाली बजारमा त्यसको विक्री वितरण नियन्त्रण गरिने बताएका छन् ।

सर्वपक्षीय छलफलले पशु सेवा विभाग र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुखको संयोजकत्व र्यापिड एक्सन टिम गठन गर्ने निर्णय गरेको छ । उक्त टिममा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष, उद्योग वाणिज्य संघका कोषाध्यक्ष सदस्य रहनेछन् ।

छलफलमा प्रमुख जिल्ला अधिकारी अर्यालसहित प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक, नेपाल भेटेरीनरी एसोसिएशनका निवर्तमान केन्द्रीय अध्यक्ष डा. शितलकाजी श्रेष्ठ, नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष पोखरेल, महासचिव भेषराज अर्याल, सदस्य आमोद खनाल, गोकुलनाथ पौडेललगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्