सिमरामा स्तन तथा पाठेघर जाँच शिविर सुरु, पहिलो दिन २१६ जनाले गराए परिक्षण


eShilalekh

२३ फाल्गुन २०८१, शुक्रबार २१:११

सिमराः सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजित स्तन तथा पाठेघरसम्बन्धी परिक्षण शिविरमा दुई सय भन्दा बढी महिलाले स्तन तथा पाठेघरसम्बन्धी समस्याको जाँच गराएका छन् ।

११५औं नारी दिवसको अवसरमा शुक्रवारदेखि संस्थाको कार्यालयमा आयोजित दुई दिने शिविरको पहिलो दिन दुई सय १६ जना महिलाले स्तन तथा पाठेघरको जाँच गराएका हुन् । नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टरकी स्त्री रोग तथा क्यान्सर रोग विशेषज्ञ डा. सौजन्य कर्माचार्य र डा. स्नेहा जोशीले महिलाहरुको जाँच गरेका थिए ।

सिमरा महिला साकोससंगको सहकार्यमा शिविर संचालन गर्न अस्पतालबाट ११ जनाको चिकित्सक टोली सिमरा आएको छ । टोलीले शनिबार पनि शिविरमा आउने महिलाको स्तन तथा पाठेघरको जाँच गर्दै परामर्श दिने सिमरा महिला साकोसकी सचिव गिता शर्माले जानकारी दिईन् ।

यसअघि शिविरको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका थिए । उद्घाटन समारोहमा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाइवा, जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टरका निर्देशक श्यामकृष्ण जोशी, संस्थाको संस्थापक अध्यक्ष अनिता लम्साल अधिकारी, उपाध्यक्ष भिमादेवी शर्मा, लेखा सुपरीवेक्षण समिति संयोजक उर्मिला सापकोटालगायतको उपस्थिती रहेको थियो ।

संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाले प्रहरी नायब उपरीक्षक वाइवालाई सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण सचिव शर्माले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्